आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने, सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा शोक बिदा

काठमाडौँ, २३ असोज : इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदै छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

त्यसैअनुसार आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । सरकारले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले हिजो एक विज्ञप्ति निकालेर इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान सङ्कायबाट इजरायल पुगेका ४९ जना विद्यार्थीमध्ये हमास समूहको आक्रमणमा १० जना विद्यार्थीले ज्यान गुमाएका थिए । विश्वविद्यालयले आज आफ्ना सम्पूर्ण निकायहरुमा शोकसभा गरी शोक बिदा दिने निर्णय गरेको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने