काठमाडौं, २९ जेठ :
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबलका बाँकी खेलहरु आजबाट पुनः सुरु हुँदैछ ।
स्पेन सरकारको खेलकुद विभागले स्पेनिस फुटबल महासंघ र ला लिगासँग लिग पुनः सुरु गर्ने सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु आजबाट हुन लागेका हुन् । गत मार्चमा रोकिएका खेल सुचारु हुँदा दर्शकहरु रंगशालमा उपस्थित हुन पाउने छैनन् ।
संक्रमणको जोखिम टार्न बन्द रंगशालामा खेलहरु खेलाइनेछ भने हरेक प्रक्रियामा स्वास्थ्य सतर्कता र सावधानी अपनाइनेछ । महामारीका कारण रोकिएको लिग पुनः सुरु गराउने पहिलो खेलमा सेभिया र रियाल बेटिस भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज राति पौने दुई बजे हुनेछ ।
ला लिगामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियाल मड्रिडको ५६ अंक छ । ला लिगाको सो सिजन जुलाई अन्तिममा टुंगिनेछ । नयाँ सिजनका खेलहरु आउँदो सेप्टेम्बर १२ देखि सुरु गर्ने तयारी गरिएको छ । ( एजेन्सी )