माल्दिभ्सबाट फिर्ता भए भारतीय सेना

काठमाडौं, २८ बैशाख : भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएलगत्तै उहाँले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिनुभएको थियो । माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । यसबीचमा माल्दिभ्सका विदेशमन्त्री मुसा जमिर हिजोदेखि भारत भ्रमणमा हुनुहुन्छ ।

कूटनीतिक गतिरोधको बीच उहाँ दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुग्नुभएको हो । माल्दिभ्स भारतको प्रमुख समुद्री छिमेकी हो । गएको मे ३ तारिखमा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० तारिख अर्थात् आजसम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए ।

भारतीय विदेश मन्त्रालयले माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी समेत गराएको छ माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुब हेलिकप्टरसहित झण्डै ७० जना भारतीय सैनिक तैनाथ रहेका थिए । ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना