अमिर रामदाम, काठमाडौं, ३० जेठ : नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधि छनोट विवादका कारण स्थगित भएको नवौं, दशौं र एघारौं साधारण सभा तथा चौंथो महाधिवेशन असार १४ र १५ गते आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले फुकुवा दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्मानित उच्च अदालत पाटनमा दाखिला भएको रीट जेठ २ गते अन्तरिम आदेश भई रीट खारेज भईसकेको व्यहोरा उल्लेख गर्दै स्थगित महाधिवेशन आयोजना गर्न फुकुवा गरेको छ । गत चैत २३ र २४ गते आयोजना हुने महासंघको चौंथो महाधिवेशनलाई अध्यक्ष माणिकरत्न शाक्यले नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौं केन्द्रको प्रतिनिधि छनोट बहुमतका आधारमा भएको सन्दर्भ देखाई महाधिवेशन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निवेदन दिएका थिए। सो निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले महाधिवेशन आयोजना नगर्न भनि महासंघलाई पत्रचार गरेको थियो।
त्यस्तै प्रतिनिधि छनोट विवादका कारण नै नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौं केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्यले नेपाल सुनचाँदी व्यवसायी महासंघका विरूद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। उच्च अदालत पाटनले चैत २२ गते महाधिवेशन नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को दफा ४२(१) (क) बमोजिम महासंघको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।
उक्त महाधिवेशनमा सहभागी हुन देशभरका ९० प्रतिशत प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौं आईसकेका थिए । एकाएक महाधिवेशन स्थगित भएपछि काठमाडौं आईसकेका प्रतिनिधि तथा पर्यवेक्षकहरूले महासंघको कार्यालय नक्साल,काठमाडौंमा नारा जुलुस समेत गरेका थिए।





