काठमाण्डौ उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलिसम्म

काठमाडौं, १४ साउन : काठमाण्डौ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलि साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान पालिकाको माग भएपछि हिजोदेखि थप तीन दिनसम्म सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो ।

बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो । टुकुचा खोला र बाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाण्डौ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । अहिलेसम्म लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो । झण्डै दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य लिए पनि दुई लाख ८४ हजार छ सय ३४ बालबालिकालाई खोप खुवाइएको शाखा प्रमुख डा.गौतमले जानकारी दिनुभयो ।

पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घर–घर पुगेर पोलियो रोगविरुद्धको खोप खुवाउन थालेका हुन् । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो रोग लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र ज्यान समेत जाने जोखिम हुन्छ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा