पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, ट्रम्प सकुशल

President Donald Trump

काठमाडौं, ३१ भदौ : पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको फ्लोरिडामा हत्याको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा रहेका बेला उहाँको हत्या प्रयास भएको एफबीआईले जनाएको छ । एफबीआईका अनुसार झाडीबाट राइफलको नाल छिराएर २ सय ७५ देखि ४ सय ५५ मीटर टाढा रहेका ट्रपमाथि गोली प्रहार भएको थियो ।

घटनास्थलमा एक एके ४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । राइफलसहित झाडीबाट निस्केर गाडी चढी भाग्न खोज्ने क्रममा उनलाई केहीपर पुगेपछि गोली हानेर पक्राउ गरिएको हो ।

अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेको बताएका छन् । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ । ह्यारिसले सामाजिक सञ्जाल एक्समा अमेरिकामा कुनै पनि ठाउँमा हिंसा स्वीकार्य नभएको बताउनुभएको छ ।

घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत आफू सामान्य अवस्थामा सुरक्षित रहेको जानकारी दिनुभएको खबरमा उल्लेख छ । यसअघि पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि पेनसिल्वेनियामा पनि गोली हानि हत्याको प्रयास भएको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस