आर्थिक क्षेत्रका कानून सुधार गर्ने सरकारको प्रयासमा निजी क्षेत्र सकारात्मक

काठमाडौं, २ माघ : आर्थिक क्षेत्रका कानून सुधार गर्ने सरकारको प्रयासलाई निजी क्षेत्रले सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घले विज्ञप्ति निकालेर कानून संशोधन स्वागतयोग्य रहेको बताएका हुन् । यसबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न सहयोग पुग्ने उनीहरुको विश्वास छ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको शिथिलता अन्त्य गर्न अध्यादेश महत्त्वपूर्ण भएको भन्दै संसद्को हिउँदे अधिवेशनबाट अध्यादेश टुङ्ग्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बताउनुभयो । रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ ।

यस्तै नेपाल उद्योग परिसङ्घले सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ११ वटा, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत १२ वटासहित २४ वटा कानूनमा गरिएको संशोधनले देशमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्ने जनाएको छ । साथै परिसङ्घले कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि पनि अनुरोध गरेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी