अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरोकाे निर्देशकमा भारतीय मूलका पटेल नियुक्त

काठमाडौं, ९ फागुन : अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरोकाे निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त हुनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) को निर्देशकमा नियुक्त गर्नुभएको हो ।

पटेलले एफबीआईको नवौं निर्देशक बन्न पाउँदा निकै सम्मानित महसूस गरेको सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ । तर रिपब्लिकन पार्टीका दुई जना सांसद सुसान कोलिन्स र लिसा मुर्काेस्कीसहित डेमोक्र्याटिक पार्टीका सबै सांसदले काश पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका बीबीसीले जनाएको छ । पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उहाँसँगै काम गर्नुभएको थियो ।

४४ वर्षका काश पटेलले वकिलका रूपमा पेशा शुरू गर्नुभएको थियो । उहाँसँग हत्या, लागूऔषध र जटिल आर्थिक अपराधका मुद्दामा अदालतमा बहस गरेको अनुभव छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले अमेरिकी कार्यवाहक रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफका रूपमा पनि काम गरिसक्नुभएको छ । उहाँ राष्ट्रिय सुरक्षा परिषद्मा राष्ट्रपतिका उपसहायक र आतङ्कवाद विरोधी विभागका वरिष्ठ निर्देशक भइसक्नुभएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस