काठमाडौं, ५ चैत्र : त्रिभुवन विश्वविद्यालयका ६४ आङ्गिक क्याम्पसमध्ये आज ३८ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव भएको छ । त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ ।
मतदान शुरू भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ । बाँकीमा यसअघि नै स्थगित भएको थियो । पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । बाँकीमा १५ दिनभित्रसम्ममा चुनाव गराउने योजना रहेको उहाँले बताउनुभयो । त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कति वटा क्याम्पसमा चुनाव भयो भन्नेबारे विवरण सङ्कलन भइरहेको त्रिविले जनाएको छ ।
यसैबीच नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले स्ववियु चुनावका क्रममा विभिन्न क्याम्पसहरूमा भिन्नभिन्न कारण देखाई तालाबन्दी हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको विषयप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर समस्याको समाधानसहित मतदानको सुनिश्चितता गर्न माग गर्नुभएको छ । विज्ञप्तिमा शेर्पाले वार्ताको माध्यमबाट समस्या सुल्झाएर चुनावको वातावरण बनाउन नेविसङ्घ मातहतका विभिन्न इकाइ एवम् आबद्ध विद्यार्थी नेताहरूलाई निर्देशनसमेत दिनुभएको छ ।