शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का

काठमाडौं, १२ वैशाख : शिक्षकहरूले आज पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् । हिजो सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि विद्यालय कहिलेदेखि खुल्छ भन्ने अन्योल कायमै छ । आन्दोलन आयोजना गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभाबाट ऐन पारित भएको भोलिपल्ट मात्रै विद्यालय खोल्ने बताउनुभएको छ ।

नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूमा चहलपहल हुन थाले पनि सामुदायिक विद्यालयहरूमा भर्ना प्रक्रिया नै शुरू हुन सकेको छैन । भर्ना गर्नुपर्ने समयमै सामुदायिक विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू निजीमा जाने क्रम बढेको छ । यसैबीच नेपाल ट्रेड युनियन कांग्रेसले शिक्षकहरूका मागप्रति गम्भीर हुन र तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको भन्दै ट्रेड युनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति निकालेर सरकारसँग यस्तो माग गर्नुभएको हो ।

लोकतान्त्रिक पेशागत सङ्घ–सङ्गठनहरूको राष्ट्रिय महासङ्घ ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतले समेत शिक्षकका मागहरू सम्बोधन गरी विद्यालय फर्कने वातावरण बनाउन आदेश गरिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा