पृथ्वीको कक्षमा घुमिरहेको सोभियतकालीन अन्तरिक्षयान ५ दशकपछि पृथ्वीमा फर्कियो

काठमाडौं, २८ वैशाख : सोभियतकालीन एउटा अन्तरिक्षयान पाँच दशकपछि पृथ्वीमा फर्किएको छ । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल शनिवार पृथ्वीमा खसेको रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले जनाएको छ । रसकसमसका अनुसार कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल इन्डोनेशियाको पश्चिममा हिन्द महासागरमा खसेको छ ।

यसअघि वैज्ञानिकहरूको नियन्त्रणविना पृथ्वीतर्फ खसिरहेकोले यो आवासीय क्षेत्रमा पनि खस्न सक्ने भन्दै चिन्ता व्यक्त भएको थियो । तर जमिनमा नभई महासागरमा खसेकोले सम्भावित क्षति टरेको रुसी अन्तरिक्ष एजेन्सी रसकसमसको भनाइ छ । युरोपेली अन्तरिक्ष निगरानी केन्द्र (एसएसटी) ले भने वायुमण्डलमा प्रवेश गरेको थाहा भएको र त्यसपछि जमिनमा खस्यो कि वायुमण्डलमै जलेर नष्ट भयो भन्ने स्पष्ट भइनसकेको जनाएको छ । रकेटमा समस्या उत्पन्न भएपछि कोस्मोस–४८२ पृथ्वीको कक्षभन्दा माथि जान नसकेको हो । झन्डै पाँच सय किलो तौल भएको त्यो यान पृथ्वीको कक्षमै घुमिरहेकोमा पाँच दशकपछि आफ्नो सबै यात्रा अन्त्य गरेको हो ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित