काठमाडौं, २२ जेष्ठ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरू हुनेछ । नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो । हङकङमा भएको यो खेल गोलरहित बराबरीमा सकिएको थियो । आउँदो मङ्गलबार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो ।
छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल भने मलेशियासँग २–० ले हारेको थियो । फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानमा रहेको छ ।