काठमाडौँ, ६ असार :
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय ९५ नमुना परीक्षण गर्दा ५३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै देशभर संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ४४८ जना पुरुष र ९० महिला रहेका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना छन्। यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८६ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण दैलेखका एक पुरुषको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले उनी क्षयरोग र दमको बिरामीसमेत रहेका बताए। सोमबार उनको मृत्यु भएको हो। ३ गते स्वाब संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो। पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ७६ रहेको छ । हालसम्म देशभर २२२४ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।