गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

काठमाडौं, ३२ असार : युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको अन्तर्राराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । ईयू विदेश नीति प्रमुख काया काल्लासले इजरायलले मानवअधिकारसम्बन्धी द्विपक्षीय सम्झौताको उल्लङ्घन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय प्रस्ताव गर्नुभयो ।

ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसा–मुक्त यात्रा रोकिने जस्ता विकल्पहरू समावेश छन् । तर गाजामा भइरहेको विनाशप्रति बढ्दो असन्तुष्टिका बीच पनि ईयू सदस्य राष्ट्रहरू इजरायलप्रति अपनाउने नीति विषयमा विभाजित छन् । कूटनीतिज्ञका अनुसार कुनै पनि निर्णय पारित गर्न आवश्यक पर्याप्त समर्थन जुट्न सकेको छैन । गाजामा झन्डै २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन् । इजरायलले हमासविरुद्धको युद्धको क्रममा मानवीय सहायता अत्यधिक सीमित पारेको छ ।

युद्धको शुरुवात सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि भएको थियो । जसमा एक हजार दुई सय १९ जनाको ज्यान गएको थियो । जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमासले अपहरण गरेका दुई सय ५१ मध्ये ४९ जना अझै गाजामा छन्, जसमा २७ जनालाई इजरायली सेनाले मृत घोषणा गरिसकेको छ । गाजाको हमास–प्रशासित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५८ हजार तीन सय ८६ भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा