कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत

काठमाडौं, १२ साउन : कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियामा भएको शान्ति वार्तापछि युद्धविराममा सहमति भएको बीबीसीले जनाएको छ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने बताउनुभएको छ ।

उहाँले यो सहमतिलाई तनाव कम गर्ने तथा शान्ति र सुरक्षा पुनस्र्थापनाका लागि एक महत्त्वपूर्ण पहिलो कदमका रूपमा उल्लेख गर्नुभएको छ । गएको हप्ता कम्बोडिया र थाइल्यान्डका सेनाबीच विभिन्न सीमावर्ती क्षेत्रमा सङ्घर्ष हुँदा कम्तीमा ३३ जनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई वाशिङ्टनसँगको व्यापार वार्ताको पूर्वशर्तका रूपमा युद्धविराममा सहमत हुन आग्रह गरेपछि यो वार्ता भएको खबरमा उल्लेख छ ।

दुवै देशका नेताले ट्रम्पलाई धन्यवाद दिएका छन् । शान्ति वार्तामा अमेरिका र चीन दुवैका पर्यवेक्षकहरू पनि सहभागी थिए । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यसलाई एकदमै राम्रो बैठकका रूपमा वर्णन गर्दै तुरुन्तै लडाइँ रोक्ने आशा व्यक्त गर्नुभएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले कम उत्साहित देखिए पनि युद्धविरामको सम्मान गर्ने वाचा गर्नुभएको खबरमा उल्लेख छ । शान्ति वार्ता चलिरहेको बेला पनि दुवै देशमा गोलाबारी र रकेटहरू निरन्तर बमबारी भइरहेका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा