काठमाडौं, १४ साउन : आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
ठूलो वर्षाको सम्भावना रहेको गण्डकीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
गएराति पनि मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । मौसमविद् मानन्धरका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।





