फूल उत्पादनमा वृद्धि हुँदा आयात घट्यो

काठमाडौं, २८ साउन : अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख रुपैयाँ बराबरको फूल आयात गरिएकोमा गएको आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखकाे मात्र आयात गरिएको नेपाल फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ ।

एशोसिएशका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा १५ करोड रुपैयाँले आयातमा कमी आएको छ । आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख रुपैयाँ बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गएको आर्थिक वर्षमा दुई करोड १३ लाखकाे निर्यात भएको छ ।

जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा फूल निर्यात हुने गरेको छ । हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिक रूपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्णरूपमा आयात रोक्न नसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुरलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा