सङ्गीतकार तथा कवि नन्दनको निधन

चितवन, २ भाद्र : कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको गएराति निधन भएको छ । नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

२०११ सालमा ‘झटारो’ गिती सङ्ग्रह प्रकाशन गरेर नेपाली गीत सङ्गीत र साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाउनुभएको छ । उहाँका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् । उहाँका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीबाट ब्यूँझेर २०२३, विपनीका पाइलाहरू २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम् पुष्पम् कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् । यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।

अनौपचारिक शिक्षा आर्जन गरेर गीत सङ्गीत र साहित्यमा लाग्नुभएका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुनुहुन्थ्यो । १९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मनुभएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आउनुभएको हो । उहाँले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ ।

कवि नन्दनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । -रासस

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा