पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ जनाको ज्यान गयाे

People identify the bodies of the victims of suicide bombing in a morgue of a hospital in Quetta, Pakistan, Tuesday, Sept. 2, 2025. (AP Photo/Arshad Butt)

काठमाडौं, १८ भाद्र : दक्षिणपश्चिम पाकिस्तानकाे क्वेटामा गएराति विस्फाेट हुँदा कम्तीमा १३ जनाकाे ज्यान गएकाे छ । बलुचिस्तान नेशनल पार्टी (बीएनपी) का समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर विस्फाेट हुँदा अन्य ३० जना घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएकाे छ ।

स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै विस्फोट भएको हो । उहाँले आक्रमणकारीको शरीरका अङ्गहरू घटनास्थलबाट बरामद गरिएको बताउनुभयो । यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यो र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । घटनामा बलुचिस्तान नेशनल पार्टीका नेता अख्तर मेङ्गल सुरक्षित रहनुभएको छ तर उहाँका केही समर्थकहरू मारिन पुगेका वा घाइते भएका वरिष्ठ प्रहरी अधिकारी उसामा अमीनले बताउनुभयो ।

यसैबीच बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले विस्फोटकाे निन्दा गर्दै घाइतेहरूलाई उत्कृष्ट उपचार उपलब्ध गराउन र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिनुभएको खबरमा उल्लेख छ । बलुचिस्तान लामो समयदेखि तल्लो स्तरको विद्रोहको केन्द्र बनेको छ । त्यहाँ बलुचिस्तान मुक्ति सेना (बीएलए) जस्ता समूहहरूले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएका छन् । यी पृथकतावादीहरूले विशेषगरी पञ्जाब प्रान्तका सुरक्षा बल र कामदारहरूलाई लक्षित गरेका छन् ।

अधिकारीहरूले विद्रोह कम भएको बताए पनि यस क्षेत्रमा हिंसा भने निरन्तर चलिरहेकाे छ । गएकाे जुलाईमा क्वेटाबाट पन्जाब प्रान्ततर्फ गुडिरहेका दुई वटा यात्रु बसलाई बलुचिस्तानको राजमार्गमा रोकेर बन्दुकधारीहरूले नौ जनालाई अपहरण गरी हत्या गरेका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा