काठमाडौं, २९ भाद्र : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीन र अमेरिकाले बधाई दिएका छन् । चीनले दुई देशबीच लामो समयदेखि मित्रता रहेको उल्लेख गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपाली नागरिकले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने जनाएको छ ।
त्यस्तै अमेरिकाले पछिल्लो घटनाक्रमपछि शान्ति–सुरक्षा पुनर्बहाली भएकोमा खुसी व्यक्त गरेको छ । अमेरिकी दूतावासले विज्ञप्ति निकालेर प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न चाहेको समेत जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको प्रशंसा समेत गरिएको छ ।
यसअघि भारत, बेलायत, जापान, संयुक्त राष्ट्रसङ्घलगायतले कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पूर्व प्रधानन्यायाधीश कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।





