कांग्रेसमा विशेष महाधिवेशनका लागि झन्डै ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

केन्द्रीय समितिको बैठक ललितपुर, २८ असोजः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठक । तस्बिरः गोपाल दाहालरासस

काठमाडौं, २९ असोज : नेपाली कांग्रेसका २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । देशभरबाट सङ्कलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनुभएको हो ।

हस्ताक्षर बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता घिमिरेले १४औं महाधिवेशनका कुल प्रतिनिधि सङ्ख्याको झन्डै ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिनुभयो । कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताउनुभयो ।

नियमित महाधिवेशनको प्रक्रिया नै शुरू नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाउनुपरेको उहाँको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनमा आफूले नेतृत्व दाबी नगर्ने घोषणासहित खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा