काठमाडौं, २१ कार्तिक : अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । यो स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
टेस्लाको वार्षिक शेयरधनी बैठक हिजो सम्पन्न भएको थियो । बैठकमा ७५ प्रतिशतभन्दा धेरै शेयरधनीले मस्कको स्टक–आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरेका खबरमा उल्लेख छ । धेरै सीईओहरूले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्णरूपमा कम्पनीका शेयर विकल्पहरूमा आधारित छ । नयाँ स्वीकृत प्याकेज अन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने मस्कलाई आउँदो दशकमा ४२ करोड ३७ लाख टेस्ला शेयरहरू प्राप्त हुनेछ–जसको मूल्य झन्डै १० खर्ब अमेरिकी डलर बराबर अर्थात् १ हजार ४ सय १५ खर्ब नेपाली रुपैयाँ हुनेछ । तर यो हासिल गर्न मस्कले आउँदो १० वर्षमा आफ्नो विद्युतीय कार कम्पनीको बजार मूल्य उल्लेखनीय रूपमा बढाउनुपर्नेछ । मस्क पहिले नै विश्वको सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ ।
यदि मस्कले बजार मूल्य बढाउनुका साथै अन्य लक्ष्यहरू पनि प्राप्त गर्नुभयो भने उहाँले पुरस्कारका रूपमा लाखौं डलर मूल्यको नयाँ शेयरहरू पाउनुहुनेछ । यो लक्ष्य पूरा गर्नका लागि टेस्लाको शेयर मूल्य अहिलेको स्तरबाट झन्डै ४ सय ६६ प्रतिशतले बढ्नुपर्नेछ जसले कम्पनीलाई अहिले विश्वकै सबैभन्दा धेरै मूल्याङ्कन भएको एनभिडियाभन्दा पनि माथि पुर्याउनेछ । एनभिडियाको बजार मूल्य अहिले झन्डै ५० खर्ब अमेरिकी डलर रहेको छ । टेस्लाको सञ्चालक मण्डलले शेयरधनीहरूलाई चेतावनी दिँदै याे योजना अस्वीकृत भए मस्क कम्पनीबाट टाढा जान सक्ने सम्भावना रहेको बताएका थिए ।
यद्यपि यस्तो ऐतिहासिक स्वीकृतिका बीच पनि टेस्लाले चुनौतीपूर्ण वर्षको सामना गरिरहेको छ । सन् २०२५ मा विद्युतीय गाडीको सुस्त बजार माग, प्रतिस्पर्धाको तीव्रता र अमेरिकी सरकारको विद्युतीय गाडीप्रति प्रोत्साहनमा आएको कमीका कारण कम्पनीको बिक्री र नाफामा उल्लेखनीय गिरावट आएको सीएनएनले जनाएको छ । विश्लेषकहरूका अनुसार यो तलब प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरिएको छ तर कम्पनीको भविष्य अब पनि बजारको प्रवृत्ति, प्राविधिक नवप्रवर्तन र विश्वव्यापी आर्थिक स्थिरतामा निर्भर रहनेछ ।





