सीमा विवादका कारण कम्बोडियाले थाइल्यान्डमा हुने एशिया गेम्सबाट आफ्नो टोलीलाई फिर्ता बोलायो

काठमाडौं, २४ मंसिर : सीमा विवादका कारण कम्बोडियाले थाइल्यान्डमा हुने एशिया गेम्सबाट आफ्नो टोलीलाई फिर्ता बोलाएको छ । दुई छिमेकीबीचको सीमा विवाद तेस्रो दिन पनि चर्किएपछि सुरक्षाको कारण देखाउँदै कम्बोडियाले थाइल्यान्डमा हुने दक्षिणपूर्वी एशियाली खेलकुदबाट आफ्नो टोली फिर्ता बोलाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कम्बोडियाको राष्ट्रिय ओलम्पिक समितिले आयोजकहरूलाई लेखेको पत्रमा ‘गम्भीर चिन्ता’ र खेलाडीहरूका परिवारहरूले उनीहरूलाई घर फर्कन अनुमति दिन गरेको अनुरोधका कारण फिर्ता बोलाउने निर्णय गरेको उल्लेख छ । दुई देशबीच अस्ति सोमवारदेखि सीमा क्षेत्रमा झडप शुरू भएको हो । यो यस वर्ष उनीहरूबीचको दोस्रो ठूलो झडप हो ।

यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा मध्यस्थता गरेको कमजोर युद्धविरामलाई भङ्ग गरेको छ । अमेरिकाले थाइल्यान्ड र कम्बोडियालाई लडाइँ बन्द गर्न भने पनि झडप भइरहेको हो । सीमा झडप तेस्रो दिन पनि लम्बिँदै जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन् ।

सन् २०२३ मा आफूले आयोजना गरेको अघिल्लो संस्करणको दक्षिणपूर्वी एशियाली खेलकुदमा कम्बोडिया पदक तालिकामा चौथो स्थानमा थियो। यस वर्षको संस्करण थाइल्यान्डको बैंकक, चोनबुरी र सोङखलामा हुँदैछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस