काठमाडौं, २४ मंसिर : सीमा विवादका कारण कम्बोडियाले थाइल्यान्डमा हुने एशिया गेम्सबाट आफ्नो टोलीलाई फिर्ता बोलाएको छ । दुई छिमेकीबीचको सीमा विवाद तेस्रो दिन पनि चर्किएपछि सुरक्षाको कारण देखाउँदै कम्बोडियाले थाइल्यान्डमा हुने दक्षिणपूर्वी एशियाली खेलकुदबाट आफ्नो टोली फिर्ता बोलाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कम्बोडियाको राष्ट्रिय ओलम्पिक समितिले आयोजकहरूलाई लेखेको पत्रमा ‘गम्भीर चिन्ता’ र खेलाडीहरूका परिवारहरूले उनीहरूलाई घर फर्कन अनुमति दिन गरेको अनुरोधका कारण फिर्ता बोलाउने निर्णय गरेको उल्लेख छ । दुई देशबीच अस्ति सोमवारदेखि सीमा क्षेत्रमा झडप शुरू भएको हो । यो यस वर्ष उनीहरूबीचको दोस्रो ठूलो झडप हो ।
यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा मध्यस्थता गरेको कमजोर युद्धविरामलाई भङ्ग गरेको छ । अमेरिकाले थाइल्यान्ड र कम्बोडियालाई लडाइँ बन्द गर्न भने पनि झडप भइरहेको हो । सीमा झडप तेस्रो दिन पनि लम्बिँदै जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन् ।
सन् २०२३ मा आफूले आयोजना गरेको अघिल्लो संस्करणको दक्षिणपूर्वी एशियाली खेलकुदमा कम्बोडिया पदक तालिकामा चौथो स्थानमा थियो। यस वर्षको संस्करण थाइल्यान्डको बैंकक, चोनबुरी र सोङखलामा हुँदैछ ।





