काठमाडौं, ९ पौष : ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका कुलमान घिसिङले सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ । नवयुवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा मन्त्री बन्नुभएका घिसिङले आज पत्रकार सम्मेलनमार्फत प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
एक सय एक बुँदामा रहेको प्रगति विवरणमा लामो समयदेखि पहिरोका कारण अवरुद्ध बनेको तातोपानी नाका खुलाउनेदेखि १४ वर्षसम्म काम नभइ रुग्ण बनेको झापाको कन्काई पुलको ठेक्का तोड्ने कामसमेत रहेका छन् । आयोजनाहरूको स्थलगत निरीक्षण, सरोकारवालासँग प्रत्यक्ष संवाद र प्रशासनिक समीक्षा गर्दा ढिलाइ, लापर्बाही, बहाना र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले विकासलाई बन्धक बनाएको पाएको उहाँले बताउनुभयो । घिसिङका अनुसार सडक विभाग अन्तर्गत ४० वटा रुग्ण आयोजनाका ठेक्का तोडिएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतका चार र राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनासहित जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका २२ गरी कुल ६६ वटा रुग्ण ठेक्का तोडिएका छन् । रणनीतिक महत्त्वको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी र एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल अन्त्य गरिएको मन्त्री घिसिङको दाबी छ ।





