इन्डोनेसियाका बाढी–पहिरो प्रभावितहरु राहत नपाएको भन्दै आक्रोशित

काठमाडौं, ११ पौष : इन्डोनेसियाको पश्चिमी प्रान्त आचेहमा गएको नोभेम्बरमा आएको दुर्लभ चक्रवातपछि आएको बाढीबाट प्रभावितहरुले राहत पाउन ढिलो भएको भन्दै सेतो झण्डा फहराउँदै विरोध जनाएका छन् ।

सेतो झण्डालाई आत्मसमर्पण नभई अन्तर्राष्ट्रिय ऐक्यबद्धताको अपिलका रूपमा बुझ्नुपर्ने प्रदर्शनकारीहरूको भनाइ छ । बाढीले सुमात्रा टापुमा एक हजारभन्दा बढीको ज्यान लिएको र लाखौँ विस्थापित भएका थिए । सबैभन्दा बढी प्रभावित आचेहमा अझै पनि धेरै ठाउँमा सफा पानी, खाना, बिजुली र औषधिको अभाव रहेको बीबीसीले जनाएको छ ।

उत्तर आचेहका गभर्नरले केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ । तर राष्ट्रपति प्रबोवो सुबियान्तोले विदेशी सहायता अस्वीकार गर्दै अवस्था नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ । उहाँले राष्ट्रिय विपद् घोषणा नगरेको कारण आपतकालीन कोष र राहत प्रक्रिया सहज हुन नसकेको आलोचकहरूको भनाइ छ ।

यद्यपि सरकारले पुनर्निर्माणका लागि ठूलो रकम निकासा गरिएको बताएको छ । बान्डा आचेहलगायत क्षेत्रमा भएको प्रदर्शनमा बालबालिकासमेत सहभागी भएका छन् । धेरै गाउँ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बिग्रिएका सडक र पूर्वाधारका कारण सहायता पुग्न कठिन भएको छ । कतिपय बासिन्दाले रोग र भोकमरीको सामना गरिरहेका खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा