बङ्गलादेश टी–२० विश्वकप खेल्न भारत नआए अङ्क गुमाउन सक्ने

काठमाडौं, २४ पौष : बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि राखेको स्थल परिवर्तको माग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) खारेज गरेको छ । मङ्गलवार भएको भर्चुअल बैठकमा बीसीबीले सुरक्षा कारण देखाउँदै बङ्गलादेशका खेलहरू भारतबाहिर सार्न गरेको माग आईसीसीले खारेज गरेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

बङ्गलादेशले आफ्ना खेलहरू भारतमै खेल्नुपर्ने अन्यथा यसले अङ्क गुमाउन सक्ने आईसीसीले बीसीबीलाई भनेको खबरमा उल्लेख छ । यद्यपि बीसीबीले आईसीसीबाट त्यस्तो कुनै अल्टिमेटम नपाएको बताएको छ । आइतवार बीसीबीले आईसीसीलाई पत्र लेखेर बङ्गलादेशका खेलहरू भारतबाट सार्नेबारेमा विचार गर्न अनुरोध गरेपछि आईसीसीले बैठक बोलाएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद बढेको हो ।

टी–२० विश्वकपमा बङ्गलादेशले आफ्ना खेलहरू कोलकाता र मुम्बईमा खेल्ने तालिका छ । प्रतियोगिताका १०औँ संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूह नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा