चुनावमा प्रहरी वा कर्मचारीलाई सहयोग आवश्यक परे आदेश कुर्नु पर्दैन : महानिरीक्षक अर्याल

काठमाडौं, २८ माघ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चुनावको समयमा नेपाल प्रहरी वा चुनावमा खटिएका कर्मचारीहरूलाई सहयोग आवश्यक परेमा तत्काल खटिन र त्यसका लागि आदेश लिइरहन नपर्ने निर्देशन दिनुभएको छ ।

माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्पजस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै चुनावको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र चुनावमा खटिएका कर्मचारीहरूलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालनपछि मुख्यालयमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।

‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो’, महानिरीक्षक अर्यालले भन्नुभयो । चुनाव बिथोल्न खोज्नेहरूको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरूबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै उहाँले निष्पक्ष चुनाव र मतदाताको सुरक्षामा कुनै कमी–कमजोरी हुन नदिन पनि निर्देशन दिनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा