निर्वाचन आयोगले चुनावको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो, सांसदहरूकाे शपथ चैत १२ गते

काठमाडौं, ५ चैत्र : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनुहुनेछ । यसअघि आयोगले आजै फागुन २१ गते सम्पन्न चुनावमा समानुपातिकतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण पनि गरेको छ । प्रत्यक्षतर्फ जितेका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् ।

यसैबीच प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज यस पटकको चुनावमा राष्ट्रिय दल बनेका ६ वटा दलका प्रतिनिधिसँग छलफल गर्दै यही १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जानकारी गराएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उहाँले बाँकी सांसदलाई शपथ गराउनु हुने छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा