इन्डोनेशियामा अभियन्तामाथि एसिड छ्यापेको आरोपमा चार सैनिक पक्राउ

काठमाडौं, ६ चैत्र : इन्डोनेशियामा एक अभियन्तामाथि एसिड छ्यापेको आरोपमा चार जना सैनिक पक्राउ परेका छन् । सरकारमा सेनाको प्रभावको आलोचना गर्ने अभियन्तामाथि एसिड छ्यापेको घटनामा संलग्न रहेको आरोपमा चार जना सैनिक पक्राउ परेका बीबीसीले जनाएको छ ।

जबरजस्ती बेपत्ता पार्ने घटनाहरूको अनुसन्धान गर्ने एक प्रमुख अधिकार समूह ‘कोन्ट्रास’ का एन्ड्री युनुसलाई गएको हप्ता स्कुटरमा सवार दुई जना पुरुषले एसिड छ्यापेपछि उनको शरीरको २० प्रतिशतभन्दा धेरै भाग जलेको खबरमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आक्रमणप्रति गहिरो चिन्तित भएको बताउनुभएको छ । यस्तै अधिकार समूह ‘कोन्ट्रास’ ले यो आलोचनात्मक आवाजहरूलाई दबाउने प्रयास भएको उल्लेख गरेको छ ।

आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको सैन्य प्रहरी कमान्डर युस्री नुर्यान्तोले जानकारी दिनुभएको छ । पक्राउ परेका चार जना सैनिक गुप्तचर इकाइका रहेका उहाँको भनाइ छ । आक्रमणपछि एन्ड्रीलाई जकार्ताको अस्पताल लगिएको थियो । परीक्षणका क्रममा उहाँको हात, अनुहार, छाती र आँखालगायत शरीरका विभिन्न भाग जलेको देखिएको ‘कोन्ट्रास’ ले विज्ञप्तिमा भनेको छ । राजनीतिमा सेनाको बढ्दो भूमिकाको बारेमा पोडकास्ट रेकर्ड गरेर मोटरसाइकलमा फर्किरहेका बेला अभियन्तामाथि आक्रमण भएको थियो ।

यसैबीच एसिड आक्रमणको घटनापछि देशका केही भागहरूमा प्रदर्शन भएका छन् । अधिकारकर्मीहरूले राष्ट्रपति प्रबोवो सुबियान्तोलाई पनि घटनाको अनुसन्धान गर्न स्वतन्त्र टोली गठन गर्न आग्रह गरेका छन् । राष्ट्रपतिले खुला र द्रुत अनुसन्धानको आदेश दिनुभएको उहाँका प्रवक्तालाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा