नवलपरासीको दाउन्नेमा गाडी सञ्चालनमा अझै कठिनाइ

काठमाडौं, ८ चैत्र : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा गाडी सञ्चालनमा कठिनाइ भएको छ । अस्ति र हिजो परेको पानीका कारण सडक हिलाम्मे भएपछि गाडी पार हुन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । हिजो दिनभर गाडी सञ्चालन हुन नसकेकोमा आज सडक एकतर्फी खुलेको छ । तर बाटो अझै हिलो भएको र गाडी सञ्चालन सहज हुन नसकेको प्रहरीको भनाइ छ । दाउन्नेको उकालोमा गाडी चिप्लिएर गुड्न नसक्दा जाम भएको छ ।

घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा धेरै सास्ती छ । केही गाडीहरू मुश्किलले पास भए पनि चालकले लेन अनुशासन पालन नगर्दा जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ । यात्रुबाहक बसलाई चितवनतर्फबाटै वैकल्पिक सडकबाट यात्रा गर्न अनुरोध गरिएको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै नारायणगढ–बुटवल सडक योजनाले अस्ति, हिजो र आजको लागि रातको समयमा ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाएको थियो । यो खण्ड निर्माण भइरहेकाले सामान्य वर्षामै पनि अवरुद्ध हुने गरेको छ ।

घाम लागेर सडक सुकेमा दिउँसोपछि थप सहज हुने नारायणगढ–बुटवल सडक योजनाको पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले बताउनुभयो । तत्कालका लागि सडक योजनाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । यसैबीच वर्षा तथा हिमपातका कारण अवरुद्ध भएका अन्य सडकहरू नियमित सञ्चालनमा रहेका सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन् । बुटवल–पाल्पा सडक खण्ड, बीपी राजमार्ग, अरनिको राजमार्गलगायतका सडक सञ्चालनमा छन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय