इरानले हर्मुज जलमार्ग खुला गरेको घोषणापछि कच्चा तेलको भाउ केही घट्यो

Big oil tanks are pictured in front the BP refinery in Gelsenkirchen, one of the biggest fuel producers in Germany, Wednesday, March 11, 2026. (AP Photo/Martin Meissner)

काठमाडौं, ५ बैशाख : इरानले हर्मुजको जलमार्ग व्यावसायिक जहाजका लागि खुला गरेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ । हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी आएको हो । अमेरिका–इजरायल र इरानबीच युद्धविरामको बाँकी अवधिका लागि इरानले हिजो हर्मुज जलमार्ग खुला गरेको घोषणा गरेको छ ।

यो घोषणापछि ब्रेन्ट कच्चा तेलमा प्रतिब्यारेल ८८ डलरमा झरेको छ, जुन घोषणा अघि ९८ डलरभन्दा माथि थियो । हर्मुज जलमार्ग इरानको दक्षिणमा रहेको साँघुरो भाग हो, जहाँबाट तेल र तरल प्राकृतिक ग्यास ढुवानी गरिन्छ । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण शुरु गर्नुअघि कच्चा तेलको भाउ प्रति ब्यारेल ७० डलरभन्दा कममा कारोबार भइरहेको थियो । झण्डै तीन महिना अघि गएको फेब्रअरी २२ तारिखमा युद्ध शुरु भएको थियो । मार्चमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११९ डलरभन्दा माथि पुगेको थियो । यसबीचमा भाउमा पटक–पटक उतारचढाव भइरहेको छ ।

विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्धविरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताउनुभएको छ । इरानले हर्मुजको जलमार्ग खुल्ला भएको घोषणा गरे पनि ट्र्याकिङमा थोरै जहाजहरू चलिरहेको देखिएको बीबीसीले जनाएको छ । जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ । अमेरिका र इरानबीचको युद्धविराम यही अप्रिल २२ तारिख अर्थात् बुधबार समाप्त हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ । हालै अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको थियो ।

यद्यपि पाकिस्तानसहितका मध्यस्थकर्ता देशले दोस्रो चरणको वार्ताका लागि निरन्तर पहल गरिरहेका छन् । इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविरामको सहमति भएपछि आएको हो । इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ । भारत, चीन, फ्रान्स, बेलायतलगायत विश्व समुदायले पछिल्लो कदमको स्वागत गरेका छन् ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै