काठमाडौं, २८ बैशाख : इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले पुरुष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ । सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय तालिकामा इङ्ग्ल्यान्डले नेपालसँग टी–२० शृङ्खला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
इङ्ग्ल्यान्डको टोलीले नेपाल भ्रमण गरे त्यो ऐतिहासिक हुनेछ । अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय शृङ्खला खेलेका छैनन् । पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढेको छ । गएको वर्ष नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्यसँगको शृङ्खला जितेको थियो ।
यसैबीच आयरल्यान्डले पनि सन् २०२६–२७ मा नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ । यस वर्ष आईसीसी टी–२० विश्वकपमा नेपाल र इङ्ग्ल्यान्डबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो । त्यो खेलमा इङ्ग्ल्यान्ड अन्तिम बलमा विजयी भएको थियो ।





