हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी

काठमाडौं, ३ जेष्ठ : इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम इरानले ल्याउँदैछ । यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अलजजिराले जनाएको छ । यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्यवृद्धिको सम्भावना बढेको छ ।

विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति यही बाटो भएर जान्छ । कतार, साउदी अरब, युएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ । चीन, भारत, जापान र दक्षिण कोरियाजस्ता एशियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । तेहरानमा युद्धपछि मूल्यवृद्धि अत्यधिक बढेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्पजस्तै बनेको खबरमा उल्लेख छ । इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ । यस्तै लेबनानमा इजरायल र हिजबुल्लाहबीचको आक्रमण जारी छ ।

इजरायलले दक्षिणी लेबनानका सय भन्दा बढी ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन हमला गरेको जनाएको छ । इजरायले लेबनानबीचको युद्धविराम ४५ दिनका लागि थपिए पनि दुवै पक्षबीच एक अर्कामाथिको आक्रमण रोकिएको छैन । राष्ट्रसंघले युद्धविरामको स्वागत गरेको छ । मध्यपूर्व अहिले बहु आयामिक सङ्कटमा फसेको छ ।

इरान–अमेरिका तनाव, गाजामा युद्ध, लेबनानमा आक्रमण र हर्मुज जलमार्गको अस्थिरताले विश्व राजनीति र अर्थतन्त्र दुवैलाई प्रभावित पारिरहेको छ । आउँदा केही दिन परिस्थिति अझ संवेदनशील बन्न सक्ने विश्लेषकहरूको चेतावनी छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा