जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

काठमाडौं, ७ असार : फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि ५–१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो ।

डेनिस उन्डाभले ६८औँ मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जर्मनीलाई महत्त्वपूर्ण जित दिलाए । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ । आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

समूह ‘एफ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ गोल अन्तरले जित हासिल गर्‍यो । नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको छैटौँ र १७औँ मिनेटमा गोल गरे ।

दोस्रो हाफको सुरुमै कोडी गाक्पोले अर्को गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० बनाए । स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि खेलको ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको सहज जित सुनिश्चित गरे ।

अहिले कुराकाओ र इक्वेडरबीचको खेल चलिरहेको छ । आजै बिहान पौने १० बजे मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’