लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाइ

लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री मार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ । तर अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा भइरहेको दाबी गरेको छ ।

इरानी सेनाले अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि भएको सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको छ । सम्झौताअनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको बताउनु भएको छ ।

बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज आइतबार स्विट्जरल्यान्डमा हुने अमेरिका–इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ । उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अन्य पक्षले सम्झौताअनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भएको छ ।

यसअघि अमेरिका र इरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो । सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ ।

काठमाडौं, ७ असार : लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको खबर सार्वजनिक भएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायल–हिजबुल्लाह द्वन्द्वमा ४ हजार ५७ जनाको ज्यान गइसकेको छ ।

विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक करिब दुई करोड ब्यारेल तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ । विश्वव्यापी तेल तथा ग्यास व्यापारको झण्डै २० प्रतिशत हिस्सा यही मार्गबाट हुने भएकाले त्यहाँ अवरोध हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’