काठमाडौं, १९ असार :
गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि कोरोना संक्रमण भेटिएको छ ।
नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चिवतनमा परीक्षण गरिएको थियो । त्यस्तै, तनहुँमा पनि ९ जना संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस संक्रमण भएको फेला परेको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेशभरी कोरोनाबाट निको भएर घर फर्किनको संख्या २ सय ९६ छ ।