बिहीबारदेखि बाढीपहिराको जोखिमः सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २३ असार :

आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ । तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस छ । (रासस)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा