प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्षमाथि कुटपिट

सर्लाही, १० साउन  :

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उहाँका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिनुभयो । वडाध्यक्ष महतोलाई बिहीबार साँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडितका परिवारजनले बताएका छन् । कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै  शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो ।

केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महतो नजिककी आफ्नै नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय निकटका केही युवाले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपिट भएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत यादवसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा