१७ आश्विन २०७७ :
काठमाडौं । युरोपमा अहिले कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । यसैबीच, स्पेनको राजधानी मड्रिडमा पुनः लकडाउन गरिएको छ । संक्रमण तीव्र गतिमा फैलिन थालेसंगै मड्रिडमा आंशिक लकडाउन लागु गरिएको हो । मड्रिडका बासिन्दाले सधै लकडाउनको विरोध गर्दै आएका छन् । स्थानीयले लकडाउनको उपेक्षा गर्दै आएपनि स्थानीय प्रशासनले संक्रमण नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन लागु गरेको हो । मड्रिडका ३० लाख भन्दा बढी मानिसले अब नयाँ नियम मान्नु पर्ने भएको छ ।
मड्रिडमा अत्यावश्यक काम बाहेक एक अर्को जिल्ला भ्रमण गर्न रोक लगाइएको छ । रेस्टुराँ तथा बारलाई पनि राति १० बजेपछि सेवा दिन पाबन्दी लगाइएको छ । ६ जना भन्दा बढीलाई भेला हुन पनि निषेध गरिएको छ । स्पेनमा पछिल्ला दिनहरुमा औषत १० हजार जनामा संक्रमण पुष्टि हुँदै आएको छ । हिजो मात्र स्पेनमा ११ हजार बढीमा संक्रमण पुष्टि भएको थियो भने ११३ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)



