काठमाडौँ, १ पुष
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि त्यसबारे आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो ।
बैठक दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ। प्रतिपक्ष दलका नेता र सभामुख विना नै संवैधानिक परिषद्को निर्णय बहुमतबाट गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले यसको विरोध गरेको छ । यसबारे औपचारिक धारणा तय गर्न बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
गत आइतबार आह्वान गरिएको परिषद बैठकमा नगएका सभापति देउवा हिजो बिहान बोलाइएको बैठकमा सहभागी भएपनि कोरम नपुगेपछि स्थगित भएको थियो। त्यसपछि अध्यादेश ल्याएर हिजै साँझ ५ बजे बसेको संवैधानिक परिषदको बैठकमा देउवा सहभागी भएनन् ।
उपसभामुख पद खाली राखेर, सभामुखलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद रहेको भन्दै देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।





