कुटीभित्र भेटिएका मणि !

सिर्जन अविरल

२५ पुष २०७७,शनिबार :

आफ्ना छोटा र सरल निबन्धहरूको लोभलाग्दो कुटी निर्माण गरेका छन् निबन्धकार मणि अर्यालले । एउटा ऊर्जाशील र सकारात्मक सोच बोकेका साहित्यिक साधक हुन्, अर्याल । यिनी क्लिस्ट शब्दहरूको प्रयोग गर्दै अनेक बिम्वहरू थुपार्दै निबन्धलाई दुरूह बनाउँदैनन् । न त यिनका निबन्धहरू यथार्थको भुइँ छाडेर बेतुके कल्पनाको उडानमा नै भेटिन्छन् । आफ्ना हरेक निबन्धमा आफू बाँचेको समय र भोगेको यथार्थलाई अति सरल र आकर्षक रुपमा पस्किएका छन्, यिनले । जम्माजम्मी ११ वटा निबन्धमा सजिएको ‘कुटी’ सुन्दर र पठनीय निबन्धहरूको सानो गुजुल्टो हो । कुटी पढ्न बस्‍ने जोकोही पाठकलाई लाग्छ – यो समयको ऐनालाई अति सरल र सुबोध्य भाषामा निबन्धभित्र पढिरहेको छु । न त कुनै परिभाषाको कर्मकाण्डी बाटो हिँडेको छ । यिनको निबन्ध न त हराएको छ, कुनै सिद्धान्तको गहिरो सुरूङमा । एउटा लेखकले भोगेको समय र मसिना विषयलाई निबन्धमा निकै महत्व दिएका छन्, यिनले । कुटीभित्र सजिएका हरेक निबन्धमा पाठकले आफ्नै परिवेश, समाज र सबै खाले सामाजिक विषयहरू भेटिरहेको हुन्छ । साहित्य समाजभन्दा पर छैन भन्ने गहिरो अनुभूत गर्न सक्छ कुटी पढ्ने पाठकले । प्रस्ट भाषामा भन्दा एउटा प्राकृतिक यायावरजस्तै लेखक हुन्, यिनी । आफैँले घुमी हिँडेका, देखेका र भोगेका अनेक कुराहरूलाई नै लेखनको विषय बनाएका छन्, यिनले । वास्तविक जीवन र समाजभन्दा कत्ति पर छैन यिनको लेखन । त्यति मात्र नभएर मृदुभाषी, सरल र इमान्दार लेखक पनि हुन् अर्याल । यिनको बाहिरी जीवन र लेखकीय जीवनमा एकरुपता भेटिन्छ ।

बौद्धिक ,शीष्ट र सरल व्यक्तित्वको रुपमा भेटिने यिनी यथार्थमा प्रकृतिक लेखक नै हुन् । यही समाजलाई छामेर कहिले पश्चिम त कहिले पूर्वमा पाइला नाप्दै समयको बार्दलीबाट समयलाई नै सम्बोधन गर्ने लेखक हुन्, यिनी । केही आत्मपरक र केही वस्तुपरक शैलीमा लेखिएका यिनका निबन्ध विद्यालयका पाठ्यपुस्तकमा राखिन लायक निबन्धहरू हुन् । सामान्यभन्दा सामान्य पाठकले पनि सजिलै बुझ्‍न सक्ने यिनका निबन्ध नदीजस्तै सलल बगेका हुन्छन् । पाठकले पढ्न सुरु गरेपछि छोड्न नसक्ने यिनका निबन्धमा अनौठो चुम्बकीय आकर्षण भेटिन्छ । निबन्धको भाषामा भेटिने मिठास र कलात्मक प्रस्तुतिले नजानिदो गरी पाठकलाई तान्छ । वास्तवमा त्यस्तो उत्पात र अचम्मको कुनै कुरा भनेका छैनन्, यिनले आफ्नो निबन्धमा । श्रमको कथा, पसिनाको मूल्य र जीवनको गीतलाई समाजसँग प्रत्यक्ष जोडेर निबन्धको भाषामा मात्र बोलेका हुन्, अर्यालले । अचम्म त के छ भने गहिरो दर्शन र ठूल्ठूला सिद्धान्तको डिङ हाँक्नेहरूका अगाडि यिनको लेखनको सरलता नै भव्य लाग्छ ।

जीवनचेतना, मानवीय संवेदना अनि भोगाइ र समाजको यथार्थ प्रतिबिम्ब भेटिन्छ कुटी’मा । पहिलो निबन्ध कृतिमा पनि कत्ति कमजोर लाग्दैन यिनको भाषाशैली । झण्डै दुई दशकभन्दा बढी साहित्यिक यात्रामा लागेका यिनले फुटकर रचनामार्फत आफूलाई निखार्ने अवसर पाएको देखिन्छ । समाजको बिग्रँदै गएको लय अनि हार्दिकता र संवेदनाको पहाडबाट वर्षेनी गइरहने पैह्रो कति भयावह हुन्छ भन्ने कुरा पढ्न सकिन्छ यिनका निबन्धमा । राजनीति पसेपछि भत्किएको गाउँको सौन्दर्य अनि स्खलन हुँदै गएको नेताको सिद्धान्त र आदर्श मात्र होइन गरिब किसानको पसिनाको सौन्दर्य पनि भेटिन्छ निबन्धमा । ‘गुरु भेट’ शीर्षकबाट सुरु भएको निबन्ध ‘सम्झनामा इन्द्रबहादुर’सम्म गएर टुंगिन्छ । होटल हाइवे, मधुशाला, मेरो गाउँ, मित्र संवाद’जस्ता फरक- फरक स्वादका निबन्धहरूमा सङ्ग्रहभित्रको छैटौँ निबन्ध हो, कुटी । त्यस्तै नेपालगञ्ज, प्यान्थर, पसिनाको स्वाद, रिस’जस्ता निबन्धहरू पनि सङ्ग्रहका सुन्दर निबन्धहरू हुन् । गुरु भेट शीर्षकको निबन्धमा आजका विद्यार्थी र शिक्षकको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । मात्र औपचारिक बन्दै गएको गुरु र चेलाचेलीको सम्बन्ध, हराउँदै गएको सम्मानभाव, गलत शिक्षा नीति, आफ्नै भविष्यप्रति उदासीन विद्यार्थी र सरकारी शिक्षकको बढ्दो गैरजिम्मेवारीपनलाई पनि निबन्धमा उठाइएको छ ।

होटल हाइवे शीर्षकको दोस्रो निबन्धमा व्यापारको नाउँमा मानव स्वास्थ्यमाथि हुने गरेको गम्भीर खेलवाड , हराउँदै गएको मानवता, रोगको घर बन्दै गएको होटल , कसरी व्यवसायीहरू पैसाको लागि सबै कुरा बिर्सन्छन् भन्ने यथार्थलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै मधुशाला शीर्षकको निबन्धमा भट्टीलाई मधुशालाको नाम दिएर त्यसभित्र हुने कुकृत्यहरू कति भयावह छ भन्ने देखाइएको छ । लेखकले महजस्तै हुनुपर्ने मधुशालाको व्यवहार रक्सी र देहव्यापारमा सीमित भएको र त्यही मधुशालाभित्र मौलाएको छाडा संस्कृतिले समाजको आदर्श डगमगाएको चिन्ता प्रकट गरेका छन् । संग्रहभित्रको अर्को निबन्ध हो -‘मेरो गाउँ ‘ गाउँनै गाउँले बनेको देशमा पहिले गाउँको विकास नभएसम्म देशको विकास असम्भव छ ।

सहर हुँदै राजधानी पसेका नेता चुनावको समयमा मात्र देखिनु, पत्रकारले गलत समाचार छाप्नु र जनता सधैँ आश्वासनमा मात्र बाँच्ने अवस्थाले देशको विकास हुन नसकेको प्रति गहिरो चिन्ता देखिन्छ लेखकको । घुसमा चलेको नेता, पैसामा बिकेको पत्रकार र सेटिङमा चलेको प्रशासन नै विकासका बाधक हुन् भन्‍ने विचार लेखकको छ । सङ्ग्रहको अर्को निबन्ध हो – ‘मित्र संवाद’ संवाद भनेको सुन्दर बहस र वादविवाद पनि हो । बहसमा अनेक विषयहरु उठ्छन् । लेखकले एक जना स्रष्टा नै मित्र संवादको पात्रको रुपमा पाएका छन् । साहित्य किन र कसका लागि लेखिन्छ भन्ने गम्भीर बहस निकै महत्वपूर्ण छ । रहरको लागि पुस्तक छपाउनुले खास अर्थ राख्दैन । साहित्य कुनै लहडी खेल होइन । जीवनभर कमाउको पेसामा लागेर सस्तो लोकप्रियताको लागि पुस्तक निकाल्नु भनेको साहित्यिक वातावरण धमिलो बनाउँने मात्र हो । आफ्नो आत्मसन्तुष्टिका लागि मात्र भन्दा पनि पाठकको मन जित्ने सिर्जना आवश्यक छ भन्छन् निबन्धकार । उनको यो विचार निकै अर्थपूर्ण भेटिन्छ ।

सङ्ग्रहभित्रको अर्को सुन्दर निबन्ध हो – कुटी । निबन्धकारले आफ्नो गृहलाई कुटी भन्न रुचाएका छन् । यो शब्दभित्र देशप्रेम र गृहप्रति अपार आत्मीयता झल्किन्छ । आदिम समयदेखि सुरु भएको सभ्यता होस् या संस्कारको उज्यालो यही माटोमा भेटिएको सुकिलो शब्द हो कुटी । यही कुटीमा लेखिए रामायण र महाभारतका अनुपम कृतिहरू । त्यही कुटी शब्द प्रिय बनेको छ स्वयम् निबन्धकारका लागि पनि । त्यस्तै नेपालगञ्ज शीर्षकको निबन्धमा निबन्धकार अर्यालले आफ्नो जन्मस्थानको सुन्दर चित्रण गर्दै यसलाई सर्वत्र परिचित गराउने प्रयास गरेका छन् । समग्र नेपालगञ्ज चिनाउने क्रममा निबन्धकार अर्यालले कोहोलपुर , खजुरा र बाँसगढीलाई समेत चिनाउन सफल भएका छन् । नेपालगञ्जभित्र बसोबास गर्दै आएका बाहिरी जिल्लाका मानिसलाई अलग्याएर नेपालगञ्जको सौन्दर्य जीवित राख्न नसकिने कुरा निबन्धमा भेटिन्छ । लेखकको गृह जिल्लामोह यस निबन्धमा भेटिन्छ । नेपालगञ्जको साहित्यिक गतिविधि अनि सांस्कृतिक र राजनीतिक पक्षलाई पनि सुन्दर रुपमा चित्रण गरिएको छ ।

यसरी निबन्धकारले सामाजिक, सांस्कृतिक र समसामयिक विषयका विविध पक्षमा कलम चलाएका छन् । रिसाएर यो संसारमा कुनै पनि मानिस पराजित मात्र हुने तर खुसीले संसार जितिने कुरा उनको रिस शीर्षकको निबन्धमा पढ्न पाइन्छ । रिस नै मानिसको पतनको कारक हो र खुसीले शत्रुलाई पनि पराजित बनाउँन सकिन्छ भन्ने भावको प्रस्तुत निबन्धमा उनले आफ्नै परिवारबाट पात्र अघि सारेका छन् । त्यस्तै सम्झनामा इन्द्रबहादुर राई सङ्ग्रहको अन्तिम निबन्ध हो । दार्जिलिङ पुगेर इन्द्रबहादुर राईलाई भेटेको सुन्दर स्मरण र जीवन्त संवादलाई समेटिएको छ यसमा । इन्द्रबहादुर राईको भव्य व्यक्तित्व अनि विशिष्ट लेखनको विशेष चर्चा गर्दै नेपाली साहित्यको अभिभावकको रुपमा चित्रण गरिएको छ ।

यसरी समाजको बेथिति, विसङ्गति, राजनीतिक भ्रष्टाचार , गरिब किसानले महसुस गर्न नपाएको परिवर्तन अनि हरेक चुनावमा नेताले दिने झुटो आश्वासनजस्ता विषयलाई सुन्दर र कलात्मक रूपमा प्रस्तुत गरिएको छ निबन्धमा । कुटीको आवरण नै निकै लोभलाग्दो छ । नीलो भुइँमा लाल्टिनको उज्यालो बोकेर कुटीमा पस्दै गरेको मानव आकृतिसहितको बोजोड कला भेटिन्छ आवरणमा । यो नै उज्यालोको बिम्ब हो । सकरात्मक सोच र आत्मिक सुखको प्रतीक हो । आफ्नै मन र कुटीरूपी मन्दिरमा उज्यालो सल्काउन सके संसार उज्यालो देखिन्छ भन्ने भाव चिटिक्क परेको सुन्दर कृतिको आवरणले बोल्छ । अन्ततः कुटी निबन्धसंग्रहमा केही सामान्य र केही प्राबिधिक कुराहरू छोडेर कतै खोट लगाउनुपर्ने ठाउँ देखिन्‍न । यो पुस्तक निकै पठनीय र सङग्रहणीय बन्न सफल भएकोमा निबन्धकारलाई हार्दिक बधाइ तथा शुभकामना !!

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि