प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो : रामचन्द्र पौडेल

चितवन, १५ मंसिर :

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभएको हो । ‘गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।’ उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।’ पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उहाँले बताउनुभयो ।

पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ । ‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।’ उहाँले भन्नुभयो, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ । सल्लाह गरौँला भन्नुभएको छ । सल्लाह हुन्छ ।’ टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण चुनावमा कतिपय ठाउँमा पराजय भोग्नु परेको उहाँले बताउनुभयो ।

युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताउनुभयो । फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।’

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव