कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली बझाङबाट पहिलोपटक चीनको उरै नाकामा

काठमाडौं, २४ जेष्ठ : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैको नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भू–भागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको दुई नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको बताउनुभयो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आउँदो असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालन हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान अहिलेसम्म पाँच जनाले अनुमतिपत्र लिएका उहाँले जानकारी दिनुभयो ।

नेपाल र चीन सरकारबीच चीनसँगका १४ वटा नाका क्रमशः खोल्न सहमति भएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनः सञ्चालनको घोषणा गर्नुभएको थियो । -रासस

संबन्धित शिर्षकहरु

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै