विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं, २५ पुस : परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायल सरकारसँग आग्रह गर्नुभएको छ । नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बाससँग हिजो भएको भेटमा उहाँले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउनको लागि पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्यवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी गराउनुभएको थियो ।

यसैबीच विपिको रिहाइको लागि सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड पनि शुरू भएको छ । २०८० असोजमा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता हुनुभएको छ । हमासले हालै ३४ जना बन्धकहरूलाई मुक्त गर्ने भने पनि जोशीको नाम सूचीमा छैन । विपिनको रिहाइका लागि थप दबाब दिन सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड चलाइएको हो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी