फागुन २१ मै चुनाव हुनुपर्छ, महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन : गगन थापा

Photo: RSS

काठमाडौं, ७ पौष : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते मै चुनाव हुनुपर्ने बताउनुभएको छ । यस्तै पार्टीको महाधिवेशनविना कांग्रेस चुनावमा नजाने उहाँको भनाइ छ । काठमाण्डौमा बिहान कार्यकर्ताहरूसँगको छलफलमा उहाँले महाधिवेशन गरेर कांग्रेस फागुन २१ को चुनावमा सहभागी हुने बताउनुभयो ।

चुनावको परिणाम कसको पक्षमा जान्छ भन्नेभन्दा पनि चुनाव गराएर नयाँ जनादेशसहितको संसद र सरकार बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उहाँको भनाइ छ । उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनैपर्ने बताउनुभयो । तल्लो तहबाट क्रियाशील सदस्यता सम्बन्धी काममा ढिलाइ भइरहेको प्रति असन्तुष्टि जनाउँदै महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशा र संरचनामा रूपान्तरण गर्ने अवसर भएको उहाँको भनाइ छ ।

आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको घोषणा गर्दै कुनै पनि मूल्य चुकाएर भए पनि चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । समयमै महाधिवेशन र चुनावमार्फत पार्टी र देश दुवैलाई अनिश्चितताबाट बाहिर निकाल्न सकिने उहाँको भनाइ छ । गएको भदौ २३ गते भएको घटनालाई अकल्पनीय र दुःखद् भन्दै उहाँले त्यसलाई इतिहासकै कालो दिनको संज्ञा दिनुभयो । त्यस घटनाको राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन सरकार, गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा