काठमाडौं, २६ असोज : साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । यसअघि हिजो भएको आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको र तीन सयभन्दा बढी घाइते भएको समाचार सार्वजनिक भएको थिया ।
कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुथी विद्रोहीमाथि लगाइएको छ । यसैबीच, हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुथीसम्बद्ध सञ्चारमाध्यमले जनाएका छन् । यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ ।
पछिल्ला घटनाले साउदी अरब र हुथी विद्रोहीबीचको द्वन्द्व थप चर्किन सक्ने चिन्ता बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण, यमनमा जारी हवाई हमला र हर्मुज जलमार्गमा बढ्दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ ।





