काठमाडौं, २६ असोज : बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ। धार्मिक विधिअनुसार देवीको पूजा गरी भक्तजनले सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ। ब्रह्मचारिणी देवीलाई तपस्या, त्याग, संयम, सदाचार र आत्मबलको प्रतीक मानिन्छ।
पौराणिक कथनअनुसार भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न माता पार्वतीले कठोर तपस्या गर्नुभएको थियो। उहाँको यही तपस्यासँग जोडेर यस स्वरूपलाई ब्रह्मचारिणी नामले चिन्ने धार्मिक विश्वास रहिआएको छ। देवी ब्रह्मचारिणीको एक हातमा जपमाला र अर्को हातमा कमण्डलु रहेको स्वरूपको पूजा गरिन्छ।
उहाँको आराधना गर्नाले ज्ञान, धैर्य र आत्मबल प्राप्त हुनुका साथै जीवनमा सुख तथा समृद्धि आउने जनविश्वास छ। नवरात्रको यस दिन भक्तजनले देवीलाई फूल, अक्षता, चन्दन, फलफूल तथा विभिन्न प्रसाद अर्पण गरी पूजा गर्ने गर्छन्। विशेषगरी सख्खर चढाउनु र दान गर्नु शुभ मानिन्छ। यसो गर्दा बन्धनबाट मुक्ति मिल्ने तथा अनिष्ट नाश हुने धार्मिक मान्यता रहेको छ।





