सम्झनामा मकैको सातु र बकेर्नो भैँसिको अमिलो मोही

तिलक पौडेल, ४,साउन
एकाबिहानै आमाले कान्छा “घाम माथि आइसके उठ है” भनेपछि
जुरुक्क उठेर बाहिर हेर्दा झमझम पानि परिरहेको हुन्थ्यो ।
आँङ तान्दै आँसि समातेर अाँगन छेउको उदिन ढुङ्गानेर पुग्थँे ।
उदिनमा आँसि घोटेपछी आसिँको धार छाम्दा मुसुक्क मुस्कान छुट्थ्यो ।

भारमा राखेको खुर्पेटो ढाडमा बाधेर काँधमा नाम्लो राखि
३ कोस प,,र खरबारीमा पुग्दा ,
ढकमक्क लागेर कुहिरो र तुवाँलोले मलाइ नै पर्खिरहेको हुन्थ्यो ।

म खरबारिको एकछेउको चिलाउनेको फेदनेर घाँस मुठाइरहन्थेँ,
तर, मैसँग बसेको कुहिरो र तुवाँलो भने
मलाई नै नभनि बिस्तारै भागि दिएका हुन्थे  ।
अनि म झसँङ्ग बनेर मुठाएको घाँसलाइ भारी बनाउथे ।

पानिले निथ्रुक्क भिजेको अजङ्ग घाँसको भारी वोकेर गोठमा ल्याइ नपु¥याउदै
आमाले “कान्छा ढिलो गरिस आज? खान आइज है” भन्दै बोलाउनु हुन्थ्यो ।

आमाले कालो कसौँडीबाट एक चोइली पहेँलो मकैको आटो पस्किदिनुहुन्थ्यो ।
अनि ५ माने ठेकीमा राखेको बकेर्नो भँैसिको अमिलो मोहि एक बटुको दिएपछि,
आँटिको लठ्ठामा झुड्याएको त्यो कालो धैँसोले भरिएको मकैको झोतली
झिकेर मकै उगार्नुहुन्थयो ।

त्यसपछि अगेनामाथिको त्यो कालो हाँडि झिकेर,
“झिन्द्रिङ् झिन्द्रिङ्” मकै भुटेर
सिकुवाको एक कुनामा गाढेको
झाँतोमा हाँतो “ठ्वाँइ ठ्वाँइ” ठोक्दै “¥वाँइ ¥वाँइ” बनाउदै
सातु पिसिदिनुहुन्थ्यो ।

म  ढ्याउव डकार्दै जुठ्याल्नोमा चुठ्न निस्किदा,
आमाले त्यो सातुमा मदुसको कुनामा मकैको खोयाले बिर्को लगाएको
५ मुठे गौवाबाट २ थुर्मि खुदो निकालि सातुमा मोलिदिनु हुन्थ्यो,
र पुरानो कमिजको टालोमा “आज अलि थोरै भओ है कान्छा !”
भन्दै पोको पारिदिनुहुन्थ्यो ।

म पिँढीमा राखेको आँसि, खुर्पेटो र नाम्लो ढाडमा बाँध्थे ।
गोठको तारे र कालेलाइ फुकाउँथे,
अनि दुबैको पिठ्युँमा ढ्याप्प ढाप लगाउदै “ल हिड है खेतितर”
भनेपछि ऊनिहरु पनि बुझे झै गरेर अगाडि बाटो लाग्थे ।

म एउटा काँधमा हलो र अर्को काँधमा जुवा राख्थे ।
त्यै जुवाको टुप्पोमा सातुको पोको बाध्थे,  र बेसिको खेतमा झर्थे ।

बाउसे र रोपारा भन्दा एकपाइलो पहिल्यै पुगेर मेलो बनाउँथे,
बाउसेहरु बाउसो गर्नमै र रोपाराहरु रोप्नमै ब्यस्त हुन्थे ।
अनि म भने दिनैभरि काले र तारेसँगै
“ह,,ह काले कुना लेबा र छेउ लेबा तारे” भन्दा भन्दै
दिन कतिबेला बितिजान्थ्यो पत्तै पाँउदैनथे ।

जब मेलो सकेपछि उपल्लो गराको आलिमा उभिएर
दिनभरिको मेहनत र मेलो देख्दा मुहारमा निस्कियको मन्द मुस्कान र सन्तुष्टिले
थकानको रत्तिभर महसुस नै हुदैनथ्यो  ।

तर अपसोच !
अहिले भने म त्यहि खेतबारि, पाखो,पखेरोमा बनमारा र झाडी उमारेर
बिगतका यादहरुलाई ताजा बनाई मानसपटलमा डुलाउदै,
त्यहि खरबारीको घाँस काटेर अनि भकारो सोहोरेर हुर्केका यि हात, र यि औलाहरु
आज टेबलमाथिको निर्दोष कम्प्युटरको कि बोर्डमा
काचकाच र कुचकुच गर्नमा सिमित छन् ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि