इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

तेहरान, १२ साउन  :

इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गर्नुभएको छ । उहाँलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् । प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उहाँलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् । इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् । सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ ।(रासस÷सिन्ह्वा)

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी