विमानस्थल निर्माणमा सङ्घ र प्रदेश सरकारबीच साझेदारी

काठमाडौँ, १५ असोज :

विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच पहिलो पटक साझेदारी भएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त विमानस्थल विस्तार र स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण गराउन प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी गरिएको छ ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका उपस्थतिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । संस्कृति मन्त्रालयमा आज समझदारीपत्रमा कर्णालीका आर्थिक मामिला सचिव घनश्याम उपाध्याय र प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच हस्ताक्षर भएको हो । सो अवसरमा पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको उल्लेख गदैै सङ्घीयता कार्यान्वयनका सन्दर्भमा कोशेढुङ्गा साबित हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो हाम्रो पहिलो समझदारी हो, अब प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशसँग पनि हुँदैछ ।” पर्यटनमन्त्री भट्टराईले विमानस्थल सङ्घीय सरकारको क्षेत्राधिकारभित्र परे पनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने विश्वास व्यक्त गर्नुभयो । विमानस्थल मात्र नभई सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्न सक्ने उहाँको भनाइ थियो ।(रासस)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी